बारा । जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित आरएमसी कम्पनीनजिक घाइते अवस्थामा भेटिएका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएपछि घटना रहस्यमय बनेको छ । परिवारले सहनीको मृत्यु मोटरसाइकल दुर्घटनाका कारण मात्रै नभई योजनाबद्ध घटनाको परिणाम हुन सक्ने आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
असोज २ गते राति गणेश चतुर्थी महोत्सवबाट घर फर्किने क्रममा सहनी सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका थिए । प्रारम्भिक विवरणअनुसार रमौलीबाट जीतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि सवार सहनीले सडकमा अचानक सर्प देखेपछि आत्तिएर मोटरसाइकलबाट हाम फालेका थिए ।
तर, सहनीको शरीरमा देखिएका चोटपटक र घटनाअघिको पारिवारिक विवादका कारण घटना थप शंकास्पद बनेको परिवारको भनाइ छ । ‘फारम’को विषयलाई लिएर दुई परिवारबीच पहिलेदेखि विवाद रहेको जनाउँदै परिवारले सहनीमाथि ढुंगा प्रहार गरी हत्या गरिएको र त्यसलाई दुर्घटनाको रूप दिन खोजिएको आरोप लगाएको छ ।
घाइते सहनीलाई तत्काल उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा असोज ४ गते आइतबार दिउँसो १२:५४ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
मृत्युपछि परिवारले घटनाको अनुसन्धानलाई दुर्घटनामा मात्रै सीमित नराखी आपराधिक कोणबाट समेत अघि बढाउन माग गरेको छ । घटनास्थलको अवस्था, सहनीको शरीरमा देखिएका चोटपटक, मोटरसाइकलको अवस्था तथा घटनाअघिको विवादलगायत विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने परिवारको भनाइ छ ।
यसैबीच, घटनामा आरोप लागेका व्यक्तिसहित परिवारका केही सदस्य घरमा ताल्चा लगाएर सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । यद्यपि, उनीहरू फरार रहेको वा घटनामा उनीहरूको संलग्नता रहेको विषयमा प्रहरीले अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने जनाएको छ । प्रहरीले घटनास्थल, चोटपटक, मृत्युको कारण तथा घटनासँग सम्बन्धित व्यक्तिहरूबारे अनुसन्धान भइरहेको जनाएको छ । सहनीको मृत्यु दुर्घटनाकै कारण भएको हो वा त्यसमा अन्य आपराधिक पक्षसमेत जोडिएको छ भन्ने विषय अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।




