रौतहट । रौतहटको गौर नगरपालिका ४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा अन्य सामाग्री बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार भन्सार छली गरी मोबाइलका पार्ट्स तथा अन्य सामाग्री लुकाएर राखिएको सूचनाका आधारमा बुधबार दिउँसो करिब १ बजे उक्त घरमा खानतलासी गरिएको हो ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टको निर्देशनमा परिचालित टोलीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमान्डमा घरमा छापा मारेको थियो । खानतलासीमा ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालयका प्रतिनिधि सहभागी थिए ।
खानतलासीका क्रममा घरभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएको मोबाइलसँग सम्बन्धित विभिन्न पार्ट्स तथा सामाग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामाग्रीको प्रारम्भिक मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ ।
प्रहरीले सोही स्थानबाट दुई थान मोटरसाइकल समेत बरामद गरेको छ । बरामद मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको भन्सार कार्यालयका प्रमोदकुमार सिंहले जानकारी दिए ।
सामान कहाँबाट ल्याइयो ?
ठूलो परिमाणमा मोबाइल पार्ट्स बरामद भएपछि ती सामाग्री कहाँबाट र कुन नाका हुँदै नेपाल भित्र्याइएको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । सशस्त्र प्रहरीले बरामद सामाग्रीको स्रोत तथा त्यसको ओसारपसारमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतका अनुसार घरधनी रामबाबु साहले भारतबाट भन्सार छली गरी मोबाइल पार्ट्स ल्याएर घरमा भण्डारण गर्ने र पछि चन्द्रपुर हुँदै काठमाडौंसम्म पठाउने गरेको दाबी गरिएको छ । यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
घरधनी साह वा अन्य व्यक्तिको घटनामा संलग्नता भए नभएको विषय पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । बरामद सामाग्रीको वास्तविक स्रोत, स्वामित्व तथा ओसारपसारमा संलग्न व्यक्तिबारे अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ ।




