सिरहा । मधेश प्रदेशलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि रुग्ण अवस्थामा रहेको पुल आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको जनाइएको छ ।
सिरहा क्षेत्र नं. १ का सांसद बब्लु गुप्ता र क्षेत्र नं. २ का सांसद शिवशङ्कर ९शिव० यादवको सचिवालयका अनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भएको छलफलपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो ।
सांसदद्वय गृह जिल्ला पुग्दा स्थानीयवासीले १५ वर्षदेखि अलपत्र पुल कहिले सञ्चालनमा आउँछ भन्ने प्रश्न उठाउँदै आएका थिए । त्यसपछि पुल पुनः सञ्चालनका लागि पहल थालिएको र आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
सांसद गुप्ताका सचिवालय प्रमुख कृष्णा यादवका अनुसार ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण लामो समयदेखि रोकिएको थियो । पूर्वाधार विकास मन्त्रालयले आयोजनाका मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि बाँकी काम अघि बढेको उनले बताए ।
अधिकांश संरचनाको काम सम्पन्न
निर्माणका क्रममा नदीमा भाँचिएको पुलको दश नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ । त्यस्तै, सबस्ट्रक्चरको ढलान, फाउन्डेसन तथा तीन वटा पिलरको सबलीकरणको काम समेत पूरा भएको जनाइएको छ ।
अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको सचिवालयले जनाएको छ । आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त काम सम्पन्न गर्ने तयारी गरिएको छ ।
धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकमा भरिएको माटो वर्षाका कारण बगेर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ । सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ ।
पुलको लोड परीक्षण समेत पूरा भएको जनाइएको छ । निर्माणको बाँकी काम सम्पन्न गरी अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
२०६८ सालमा सुरु भएको आयोजना अझै अधुरो
कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पाएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला एउटा पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । पुलको निर्माणमा भएको ढिलाइबारे पटकपटक प्रश्न उठ्दै आए पनि पछिल्लो समय सरकारी सहजीकरणपछि कामले गति लिएको हो ।
पुल भासिएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसम्बन्धित मन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलगायतले स्थलगत निरीक्षण गरे पनि लामो समयसम्म पुन:निर्माण तथा सञ्चालनको काम अघि बढ्न सकेको थिएन ।
कमला नदी नियन्त्रणका लागि २५ करोड बजेट
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको काम समेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपियाँ बजेट सुनिश्चित गरिसकेको जनाइएको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा संयुक्त उपक्रम (जेभी) सहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् ।
आगामी साता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । पुल सञ्चालनका लागि पछिल्लो समय पहल बढेको सिरहा विकास मञ्चका अध्यक्ष तथा लेखक रामरिझन यादवले बताए ।
कमला पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको आवागमन सहज हुनुका साथै हुलाकी राजमार्गमार्फत मधेशका विभिन्न जिल्लाबीचको यातायातमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।




