रौतहट । रौतहटमा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । परोहा नगरपालिका ८ मोतिपुरस्थित पटेल चोकमा चेकजाँचका क्रममा भारत बिहारको मोतिहारी जिल्ला सन्तपुरका ३५ वर्षीय गोविन्दा दास पक्राउ परेका हुन् ।
उनको साथबाट कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पुष्टि गरेका छन् । उनका अनुसार पक्राउ परेका दासमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।भारतसँग खुला सीमा जोडिएको रौतहटमा पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिँदै आएको छ ।




