वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरी ल्याइएका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज ५ गते वीरगञ्ज महानगरपालिका १६ स्थित इनर्वागाउँ र छपकैयाका सडकबाट भारतबाट भन्सार छली चोरी–पैठारी गरी ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद खाद्यान्न तथा औषधिको कुल मूल्य २० लाख ८१ हजार २ सय २० रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।




