जनकपुरधाम । नेपाल सरकारबाट हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम मधेश प्रदेश सरकारले आफैं गर्न थालेको छ । श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि आफ्नै खर्चमा लाइसेन्स छपाइ सुरु गरेको जानकारी दिएकी हुन् ।
‘विगतमा लाइसेन्स छपाइको काम संघ सरकारले नै गर्दै आएकोमा यो आर्थिक वर्षदेखि मधेश सरकारले आफैं छाप्न सुरु गरेको हो,’ मन्त्री थापाले भनिन् । प्रदेशमा सबैभन्दा बढी राजस्व उठाउने कार्यालयमध्ये यातायात व्यवस्था कार्यालय पनि रहेकाले यसको सेवा थप प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले नीति परिवर्तनको पहल थालिएको मन्त्री थापाले बताइन् ।
जनताको घरदैलोमै लाइसेन्स पुर्याउने उद्देश्यले प्रदेशबाटै लाइसेन्स छपाइ गर्ने र सेवाग्राहीसम्म पुर्याउने व्यवस्थापनको कामसमेत अघि बढाइएको उनले जानकारी दिइन् । मन्त्री थापाका अनुसार लाइसेन्स छपाइको काम भर्खरै सुरु भएको हो । पहिलो चरणमा ३ हजार ८१ वटा लाइसेन्स छपाइ भएर आएको उनले बताइन् ।
अब क्रमश: प्रदेशभरिका यातायात व्यवस्था कार्यालयका लाइसेन्स प्रदेश सरकारले आफ्नै खर्चमा छाप्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमै मन्त्री थापाले यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुखलाई उक्त कार्यालयका लागि छपाइ भएर आएका लाइसेन्स हस्तान्तरण गरेकी थिइन् ।
मन्त्रालयका सचिव रञ्जित यादवले प्रदेश सरकारले छाप्न लागेको लाइसेन्सको गुणस्तरमा कुनै फरक नपर्ने दाबी गरेका छन् । उनका अनुसार यसअघि पनि लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाटै छपाइ हुँदै आएको थियो र अहिले प्रदेश सरकारले पनि सोही केन्द्रबाट लाइसेन्स छपाइ गरिरहेको छ ।
‘अहिले केन्द्रीय कानुनमा संशोधन र प्रदेश सरकारले आफ्नो छुट्टै कानुन निर्माण गर्न नसकेका कारण त्यही सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भइरहेको छ । पछि प्रदेशको आफ्नै मुद्रण केन्द्रबाट छपाइ गरिने हो,’ उनले भने ।
मन्त्रालयका अनुसार पहिलो चरणमा यातायात व्यवस्था कार्यालय जनकपुरधामका ९३२, वीरगञ्ज (पर्सा) का १ हजार १७२, लहानका ४६०, बर्दिबासका ३०३, रौतहट कार्यालयका ११९, राजविराज कार्यालयका ५२, मलंगवा कार्यालयका ३२ र कलैया कार्यालयका ११ वटा लाइसेन्स छपाइ भएर आएका छन् ।
यसरी विभिन्न यातायात व्यवस्था कार्यालयका गरी कुल ३ हजार ८१ वटा लाइसेन्स पहिलो चरणमा छपाइ भएर आएको मन्त्रालयले जनाएको छ ।




