सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १३ गोबरगढामा खाल्डोमा जमेको पानीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा स्थानीय सुरेश यादवका छोरा विवेक यादव रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे घरबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको चौरमा खेलिरहेका बेला बालक पानी जमेको खाल्डोमा डुबेका थिए ।
बालकलाई पानीबाट उद्धार गरी स्थानीयवासीले घर पुर्याएका थिए । तर घर लैजाँदा नै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे हनुमाननगर कङ्कालिनी नगरपालिका १३ का वडाध्यक्ष कुशेश्वर यादवले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सप्तकोशी नदीको बीच भागमा पर्ने गोबरगढा क्षेत्र नदीमा पानीको सतह बढेसँगै बाढीको जोखिममा रहेको छ । नदीको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई नदी आसपास तथा पानी जमेको खाल्डा खुल्डीमा विशेष सावधानी अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।




