जनकपुरधाम । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि मधेश प्रदेशमा विपत् व्यवस्थापनसम्बन्धी तयारी तीव्र पारिएको छ ।
सम्भावित बाढी, डुबान र नदी कटानबाट हुने क्षति कम गर्न प्रदेशका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए ।
मन्त्री महतोका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राखेर विपत् व्यवस्थापन समितिको बैठक बसेर उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ ।
जोखिमयुक्त बस्तीको पहिचान गरी स्थानीयवासीलाई समयमै सूचना दिने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काममा स्थानीय प्रहरी प्रशासन परिचालन गरिएको उनले बताए ।
प्रदेशका १३६ वटै स्थानीय तहलाई पत्राचार गर्दै आवश्यक तयारीसहित उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ । मन्त्री महतोले शुक्रबार सर्लाही, रौतहट र बारालगायत जिल्लाको स्थलगत अनुगमन समेत गरेका थिए ।
मौसम बदली भई केही स्थानमा सिमसिमे वर्षा भएपनि शुक्रबार साँझसम्म अवस्था सामान्य रहेको उनले बताए । बागमती, लखन्देहीलगायत स्थानीय खोलामा पानीको सतह केही बढेपनि तत्काल जोखिमपूर्ण अवस्था नरहेको जनाइएको छ ।
बागमती सिँचाइ आयोजनाका कर्मचारी विनोद पासवानका अनुसार आकस्मिक बाढीको सम्भावनालाई ध्यानमा राख्दै बागमती ड्यामका सबै ३६ वटा ढोका खुला राखिएको छ ।
असोज १२ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी गाउँ गाउँमा पुगेर माइकिङमार्फत स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।
सुरक्षा निकायसँगै विपत् प्रभावित क्षेत्रमा काम गर्ने सङ्घसंस्था र स्थानीय तहले उपलब्ध उद्धार सामाग्री तयारी अवस्थामा राखेका छन् भने आवश्यक थप सामाग्रीको व्यवस्थापन समेत अघि बढाइएको छ ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै पालिकाभित्रका सरोकारवालासँग छलफल गरिएको जानकारी दिए । विपत् आइपरे सबै निकायबीच समन्वय गरी आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको उनले बताए ।
महोत्तरीमा उद्धार सामाग्रीदेखि हेभी उपकरणसम्म तयारी
सम्भावित विपत्को सामना गर्न महोत्तरी जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई उद्धार, राहत तथा प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गर्न निर्देशन दिएको छ ।
प्रशासनका अनुसार वर्षाका कारण जिल्लाका रातु, राँके, बडहरी, जङ्घा र मरोहालगायत नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना छ । पानीको सतह बढेमा नदी कटान तथा डुबानको जोखिमसमेत बढ्ने भएकाले नदी र खोलानजिकका बस्तीमा निरन्तर निगरानी गर्न भनिएको छ ।
सम्भावित उद्धारका लागि लाइफ ज्याकेट, लाइफ ब्वाय, डोरी, रबर बोट तथा डुङ्गा, बन्चरो, स्ट्रेचर र टर्चलाइटलगायतका सामाग्री तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी बाढी वा वर्षाका कारण सडक तथा बाटो अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन जेसीबी, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण २४ घण्टा परिचालन गर्न सकिने अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन दिइएको छ ।
प्रभावित नागरिकलाई अस्थायी रूपमा राख्न सामुदायिक भवन, विद्यालय तथा पक्की सार्वजनिक स्थललाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी गर्न भनिएको छ । त्यस्ता स्थानमा खानेपानी, सरसफाइ र विद्युत्को व्यवस्था मिलाउन पनि प्रशासनले निर्देशन दिएको छ ।
सम्भावित प्रभावित परिवारका लागि चिउरा, दालमोठ, बिस्कुट, तयारी खाना, त्रिपाल र म्याट्रेसलगायत अत्यावश्यक राहत सामाग्री अग्रिम रूपमा भण्डारण गर्नसमेत भनिएको छ ।
सर्लाहीमा काठमाडौं आवतजावत गर्ने सवारी रोकिए
यसैबीच भारी वर्षाको सम्भावनासँगै सर्लाहीबाट काठमाडौं जाने–आउने सवारी साधनको आवागमन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि जिल्लाका विभिन्न सडकखण्डमा दिवा समयमा सञ्चालन हुने साना सवारी साधनको आवागमन समेत रोकिएको जनाइएको छ ।
लालबन्दी बजारमा टिकट काउन्टर सञ्चालन गर्दै आएका विजय लामाका अनुसार सर्लाहीबाट यात्रु लिएर काठमाडौं जाने केही सवारी साधन सञ्चालनमा रहे पनि काठमाडौं तथा अन्य स्थानबाट जिल्लातर्फ आउने सवारी साधन रोकिएका छन् ।
वर्षाको सम्भावना र सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी आवागमनमा देखिएको अवरोधले यात्रुहरू प्रभावित भएका छन् ।




