सप्तरी । सप्तकोशी नदीको बाढी बस्तीमा पस्दा सप्तरीका दुई स्थानीय तहका १५७ घर डुबानमा परेका छन् । अचानक घरभित्र पानी पसेपछि तटीय क्षेत्रका परिवारको दैनिकी अस्तव्यस्त बनेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका कोशी किनारका बस्ती बाढीको चपेटामा परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका ४ र ५ का १७ घरमा कोशीको पानी पसेको छ । घरभित्र पानी पसेसँगै खाद्यान्नलगायत घरायसी सामाग्रीमा समेत क्षति पुगेको छ ।
बाढीबाट घर असुरक्षित भएपछि वृद्धवृद्धा र बालबालिकालाई कोशीको पश्चिमी तटबन्धमा लगेर राखिएको छ । घर छाडेर सुरक्षित स्थानमा पुग्नुपरेपछि प्रभावित परिवारलाई खानेकुरा र बसोबासको समस्या थपिएको छ ।
बाढीको असर सुरक्षाकर्मीको संरचनामा समेत परेको छ । बोदेबरसाइनस्थित सशस्त्र प्रहरीको बीओपी पनि कोशीको बाढीबाट डुबानमा परेको छ । स्थानीय तहले प्रभावित क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गर्दै परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा तत्काल आवश्यक खानेकुराको व्यवस्थापन गर्ने काम थालेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका ५ का वडाध्यक्ष ललनप्रसाद राउतका अनुसार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएपछि आवश्यक राहत सामाग्री उपलब्ध गराउने तयारी भइरहेको छ ।
हनुमाननगरमा मात्रै १४० घर डुबानमा
कोशीको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकामा पनि ठूलो असर पारेको छ । नगरपालिका १२ को कोशी तटीय क्षेत्रमा ८० घरमा पानी पसेको छ । वडा नम्बर १३ को गोबरगाढाका थप ६० घर डुबानमा परेका छन् । घरभित्र बाढी पसेपछि प्रभावित परिवारलाई खाना पकाउनदेखि रात बिताउन समेत कठिन भएको छ ।
कतिपय परिवार अग्लो स्थानमा आश्रय लिएर बस्न बाध्य भएका छन् । कोशी तटीय क्षेत्रमा हरेक वर्ष नदीको बहाव उच्च भएपछि बाढी पस्ने गरेको स्थानीय बताउँछन् । नदीमा प्रतिसेकेन्ड तीन लाख क्युसेक आसपास पानीको बहाव पुग्दा यस क्षेत्रमा बाढीको जोखिम तीव्र हुने गरेको छ ।
यसपटक पनि कोशीको बहाव बढेसँगै तटीय बस्तीमा पानी पस्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । घर डुबानमा परेका परिवार तत्काल सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था आएपछि स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी तथा उद्धारको कामलाई प्राथमिकता दिएका छन् ।
वर्षेनी दोहोरिने डुबानले कोशी किनारका बस्तीमा बसोबास गर्ने नागरिकका लागि बाढी केवल मौसमी विपत् नभई नियमित जोखिम बन्दै गएको छ । घर, खाद्यान्न र दैनिक जीवनका सामान पानीमा डुब्दा प्रत्येक वर्ष स्थानीयवासीले पुन: उही संकटको सामना गर्नुपरेको अवस्था छ ।




