बुटवल । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्याएको छ । गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका ११ टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो ।
बाढीकै कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ । बाढीले घरमा क्षति पुर्याएपछि प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बुटवल ११ का वडा सदस्य युवराज रानाले जानकारी दिए ।
उद्धार तथा स्थानान्तरण कार्यमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिएको छ । नदीमा जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यसअघि नै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो ।
गएरातिसम्म निरन्तर वर्षा भएको बुटवल क्षेत्रमा आज बिहानदेखि भने मौसममा सुधार आई वर्षा रोकिएको छ ।




