रौतहट । अविरल वर्षाका कारण लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै खतरा तह नजिक पुगेपछि रौतहट प्रशासनले नदी तटीय तथा होचा भू-भागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार बिहान ७:२४ बजेको मापनअनुसार निजगढस्थित लालबकैया नदीमा पानीको सतह २३८ सेन्टिमिटर पुगेको छ । उक्त स्थानमा चेतावनी तह १५० सेन्टिमिटर र खतरा तह २५० सेन्टिमिटर निर्धारण गरिएको छ ।
हाल नदीको जलस्तर चेतावनी तहभन्दा ८८ सेन्टिमिटर माथि पुगेको छ भने खतरा तहभन्दा १२ सेन्टिमिटर मात्र तल रहेको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मौलापुर नगरपालिका १ मर्यादपुरलगायत लालबकैया नदीको तटीय क्षेत्र र होचा भू-भागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
नदीमा पानीको बहाव निरन्तर बढिरहेको अवस्थामा नदी किनार, पुल, घाट तथा डुबानको जोखिम रहेका क्षेत्रमा नजान, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष निगरानीमा राख्न तथा आवश्यक परे सुरक्षित र अग्लो स्थानमा स्थानान्तरण हुन प्रशासनले अनुरोध गरेको छ ।
सम्भावित बाढी र नदी कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायका टोलीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
यसैबीच, मर्यादपुर नजिकै हालै मर्मत गरिएको बाँधमा नदीले पुन: कटान गर्न थालेको बताइएको छ । बाँधमा कटान बढ्दै गएपछि उक्त क्षेत्रमा जोखिम थप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




