रौतहट । रौतहटको मौलापुर नगरपालिका ४ स्थित लालबकैया नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका ११ कटहरिया टोलका करिब २७ वर्षीय सचिन्द्र यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे यादव लालबकैया पुलबाट नदीमा हाम फालेका थिए । उपचारका लागि गरुडातर्फ जाँदै गरेका यादव आफ्नै दाइ सिकिन्द्र यादवले चलाएको बागमती प्रदेश ०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए ।
मौलापुर ४ स्थित लालबकैया पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेपछि यादवको खोजीका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमान्डमा १७ जनाको टोली परिचालन गरिएको थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित सात जनाको टोली खोजीमा खटिएको थियो । खोजीका क्रममा यादव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।




