राजविराज । सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न तटीय बस्ती प्रभावित भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका चारवटा वडामा बाढी पस्दा करिब पाँच सय घर परिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख वीरेन्द्र माझीका अनुसार आइतबार बिहानसम्म नगरपालिकाको वडा नं. ५, ७, १२ र १३ का कोशी तटीय बस्तीमा बाढीको पानी पुगेको छ । तीमध्ये कोशी नदीको बीच भागमा रहेको वडा नं. १३ को गोबरगाढा बस्ती पूर्ण रूपमा डुबानमा परेको छ ।
बाढीको पानी घर, आँगन तथा बस्तीमा प्रवेश गरेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । उनीहरूलाई सुरक्षित र अग्लो स्थानमा पाल टाँगेर राखिएको नगरप्रमुख माझीले बताए । बाढी प्रभावितका लागि नगरपालिकाले शनिबारदेखि निःशुल्क भोजनको व्यवस्था समेत गरेको छ ।
प्रभावित परिवारलाई खाना खुवाउन मेस सञ्चालन गरिएको र शनिबार मात्रै करिब एक हजार जनाले त्यहाँबाट खाना खाएको नगरप्रमुख माझीले जानकारी दिए । आइतबार पनि उक्त मेस सञ्चालनमा रहेको उनले बताए ।
बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिका ७ मा दुई तथा वडा नं. १२ मा दुई गरी चार परिवारको घर समेत भत्किएको छ । घरमा क्षति पुगेपछि ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
यसैबीच सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका ५ मा पनि सप्तकोशी नदीको बाढी प्रवेश गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार उक्त क्षेत्रमा करिब १५ घर परिवार प्रभावित भएका छन् ।
उनीहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार पछिल्लो समय सप्तकोशी नदीको बहाव भने क्रमश: घटिरहेको छ ।
आइतबार बिहान नदीमा दुई लाख ३४ हजार क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजका २८ वटा ढोका खुला राखिएको उनले जानकारी दिए ।




