सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ५ पडरियामा खेतमा बिछ्याइएको विद्युत्को नाङ्गो तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नन्टुन पासवानका छोरा आयुष पासवान रहेका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे स्थानीय हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी लगाउन जडान गरिएको विद्युत्को नाङ्गो तारमा खेतमा डुलिरहेका आयुष परेका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पर्साबाट प्रहरी सहायक निरीक्षक अजयकुमार रामको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा थप टोली घटनास्थल पठाइएको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले खेतमा पानी लगाउने प्रयोजनका लागि जडान गरिएको विद्युत्को नाङ्गो तारमा परेर बालकको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए ।
उनका अनुसार घटनास्थल सुरक्षित राखी विद्युत् जडानको अवस्था, तार खुला अवस्थामा राखिनुको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार विद्युत् प्रवाह भइरहेको तार खुला अवस्थामा रहनु दुर्घटनाको प्रारम्भिक कारण देखिएपनि घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धानपछि स्पष्ट हुनेछ ।




