सर्लाही । सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र गोडैता नगरपालिका १ बहादुरपुरमा मलामी गएका ७० वर्षीय वृद्ध खोलाले बगाएर बेपत्ता भएका छन् । बहादुरपुरका स्थानीय छित्नु साह सोमबार मध्याह्न दाहसंस्कारपछि नुहाउने क्रममा सोती खोलाले बगाएपछि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दाहसंस्कारको काम सकेर खोलामा नुहाउने क्रममा साहलाई पानीले बगाएको हो ।
साह बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गरिरहेका छन् । घटनास्थलमा पानीको गहिराइ बढी भएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार साहको खोजीका लागि महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट तालिम प्राप्त गोताखोर टोली समेत परिचालन गरिएको छ ।
प्रहरी र स्थानीयवासीले सामान्य रूपमा खोजी गर्दा पनि साह फेला नपरेपछि गहिरो पानीमा खोजी गर्न गोताखोर टोली मगाइएको एसपी खत्रीले जानकारी दिए । बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




