वीरगञ्ज । उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तर अनुगमनका क्रममा वीरगञ्जका दुई उद्योग कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमनका क्रममा कमजोरी भेटिएपछि दुई उद्योगलाई कुल २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उपभोक्ता हित संरक्षण मञ्चको लिखित उजुरीका आधारमा महावीर एग्रो प्रोडक्ट प्रालि र स्विट मार्ट फुड प्रालिमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा आवश्यक कागजात तथा व्यवस्थापनमा कमजोरी देखिएपछि महावीर एग्रो प्रोडक्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
त्यस्तै, स्विट मार्ट फुडको उत्पादनस्थलमा सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नदेखिएपछि उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
प्रशासनले दुवै उद्योगलाई देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन समेत भनेको छ ।
उपभोक्ताको स्वास्थ्य, अधिकार र खाद्यवस्तुको गुणस्तरमा सम्झौता हुन नदिन बजार तथा उद्योग क्षेत्रमा अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




