रौतहट । रौतहटको गौर नगरपालिका ९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नारायण बैठा रहेका छन् । मंगलबार साँझ करिब ७:४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ को मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित सर्वोत्तम अस्पताल पठाइएको थियो । तर उपचारकै क्रममा राति करिब ९:४५ बजे बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका थिए । प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका २ हजमिनियामा मामा घरमा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ ।
फरार भगतको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी ब्रह्मपुरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । बैठाको शव पोस्टमार्टमका लागि मंगलबार राति करिब १२:२० बजे प्रादेशिक अस्पताल गौर ल्याइएको थियो । शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।




