रौतहट । चाडपर्व नजिकिँदै गर्दा रौतहटको सदरमुकाम गौरमा बजार अनुगमन तीव्र पारिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा कैफियत देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट, गौर नगरपालिका तथा उद्योग वाणिज्य संघको संयुक्त टोलीले गौर–बुधबार घण्टाघरस्थित फुलतारा डेरी एन्ड स्विट्स भण्डारमा अनुगमन गर्दा कैफियत भेटिएपछि उक्त जरिवाना गरेको हो ।
अनुगमन टोलीले खाद्यवस्तुको म्याद, लेबल, भण्डारणको अवस्था, मूल्यसूची तथा बिल–बिजक समेत जाँच गरेको जनाएको छ । त्यस्तै, गौर क्षेत्रका माछा तथा मासु पसलमा पनि अनुगमन गरिएको छ ।
टोलीले व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, व्यवसाय दर्ता गर्न, पसल तथा बिक्रीस्थलमा सरसफाइ कायम गर्न र स्वच्छ तथा गुणस्तरीय माछा–मासु बिक्री गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि उमेशकुमार साहका अनुसार पहिलो चरणमा व्यवसायीलाई सुधारका लागि निर्देशन दिइएको हो । निर्देशन पालना नगरे आगामी अनुगमनमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिइएको उनले बताए ।
चाडपर्वमा अनुगमनको चुनौती
चाडपर्वको समयमा खाद्यवस्तुको कारोबार र उपभोग दुवै बढ्ने भएकाले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्रीको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
विशेषगरी माछा–मासु पसलमा सरसफाइ, भण्डारण र मूल्यसूचीको विषयमा दिइएको निर्देशन कार्यान्वयन भए–नभएको आगामी अनुगमनबाट स्पष्ट हुनेछ । पहिलो अनुगमनमा दिइएको निर्देशन पालना नभए प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रशासनले जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै उपभोक्ता ठगी तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री रोक्न बजार अनुगमनलाई निरन्तरता दिने संयुक्त टोलीले जनाएको छ ।




