धनुषा । धनुषामा विद्युत्को पोलमा चढेर मिटरको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिरेश्वरनाथ नगरपालिका ९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशव गौतमका अनुसार मिटरको तार जोड्न विद्युत् पोलमा चढेका साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनको शव पोलमै अड्किएको अवस्थामा फेला परेको थियो ।
प्रहरी र स्थानीयको सहयोगमा जेसीभी मेसिन प्रयोग गरी पोलबाट साहको शव झारिएको निरीक्षक गौतमले बताए । घटनास्थलको मुचुल्का तयार गरी प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




