सप्तरी । सप्तरीमा प्रहरीले ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका ८ का २८ वर्षीय शिवनारायण यादव, महादेवा गाउँपालिका ३ का २३ वर्षीय ललितकुमार यादव र सप्तकोशी नगरपालिका १० का ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई सप्तकोशी नगरपालिका २ स्थित पेट्रोल पम्पनजिकबाट प्र २–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । विशेष सूचनाका आधारमा कञ्चनपुर–फत्तेपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ९ किलो २७५ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत राजविराजबाट बिहीबार सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




