सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित ४७ वर्षीय मोक्तानको शुक्रबार बिहान काठमाडौंमा निधन भएको हो ।
बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाका अनुसार उपचारका लागि मोक्तान करिब एक महिनाअघि काठमाडौं गएका थिए । उनको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा असोज २२ गते मुटुको शल्यक्रिया गर्ने तयारी थियो ।
तर केही दिनदेखि ज्वरो आएपछि काठमाडौंस्थित कोठामै आराम गरिरहेका मोक्तानको शुक्रबार बिहान निधन भएको बागमती नगरपालिका २ का वडाध्यक्ष टेकबहादुर बलले जानकारी दिए ।
मोक्तान २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिका ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।




