जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा ९२ जनाको मृत्यु हुनुका साथै ५१० परिवार प्रभावित भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार साउन र भदौमा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकाले ज्यान गुमाएका छन् ।
प्रहरीको तथ्यांकअनुसार विपद्का कारण मृत्यु हुनेमा सबैभन्दा ठूलो हिस्सा करेन्ट लागेका घटनाको छ । दुई महिनामा करेन्ट लागेर मात्रै ३९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै, पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जंगली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न प्रकृतिका विपद्का घटनामा थप १३ जनाले ज्यान गुमाएका छन् ।
आगलागी र करेन्टका घटना धेरै
मृत्युको संख्या मात्र होइन, घटनाको संख्याका हिसाबले पनि आगलागी र करेन्ट प्रमुख जोखिमका रूपमा देखिएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनामा आगलागीका ११२ र करेन्ट लागेका १०७ घटना भएका छन् ।
यसैगरी पानीमा डुब्ने ३७, जंगली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना अभिलेख भएका छन् । वर्षायाममा बाढी, डुबान तथा पानीमा डुब्ने जोखिम बढ्ने गरेको प्रहरीले जनाएको छ ।
खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी र अन्य जलाशयसमेत जोखिमपूर्ण बन्ने गरेका छन् । विशेष गरी बालबालिका यस्ता घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ ।
दुई महिनामा झण्डै तीन करोडको क्षति
विपद्का ४५९ घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । क्षतिको ठूलो हिस्सा आगलागीबाट भएको छ ।
दुई महिनाको अवधिमा आगलागीका कारण २१२ परिवारका घर जलेका छन् भने दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट तीन लाख रुपैयाँ र जंगली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अन्य विभिन्न विपद्का घटनाबाट चार लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ ।
५१० परिवार प्रभावित
विपद्का घटनाबाट दुई महिनामा ५१० परिवार प्रभावित भएका छन् । केही परिवार विस्थापित भएका छन् भने केहीको घर तथा सम्पत्तिमा क्षति पुगेको छ । वर्षायाममा बाढी तथा डुबानका कारण ग्रामीण बस्ती, सडक र अन्य भौतिक संरचनामा समेत असर पर्ने गरेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।
नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको उनको भनाइ छ । विपद्का बेला प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय हुँदै आएको उनले बताए ।
उद्धारमा २ हजार ८६९ प्रहरी परिचालन
प्रदेश प्रहरी कार्यालयका अनुसार साउन र भदौमा विपद् व्यवस्थापन तथा उद्धारका विभिन्न कार्यमा दुई हजार ८६९ जना प्रहरी परिचालन भएका छन् । प्रहरी टोलीले विपद्का घटनामा खोज तथा उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण र राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको प्रहरीको भनाइ छ । मधेस प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।
प्रहरीका अनुसार आगलागी र करेन्टसँग सम्बन्धित घटनाको संख्या उल्लेख्य रहेकाले यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक छ ।




