सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ स्थित परबलबारीमा भाले हात्ती मृत अवस्थामा फेला परेको छ । ब्रह्मबाबा सामुदायिक वन नजिकै आइतबार बिहान हात्ती मृत अवस्थामा भेटिएको बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले जानकारी दिए । उनका अनुसार मृत हात्तीको सुँढलगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ । हात्तीको मृत्युको कारण भने खुलिसकेको छैन ।
हात्ती मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धानका लागि सवडिभिजन वन कार्यालय, मूर्तियाको टोली परिचालन गरिएको सर्लाहीका डिभिजन वन प्रमुख विनोद सिंहले बताए । स्थानीय बासिन्दाका अनुसार शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै अचानक हात्ती देखिएको थियो ।
राति बस्ती आसपास देखिएको सोही हात्ती बिहान मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । सर्लाहीका वन क्षेत्रमा आसपासका वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने गरेका छन् । पछिल्लो घटनामा मृत फेला परेको हात्ती पनि सोही क्रममा बस्ती नजिक आएको हुन सक्ने भएपनि यसको यकिन कारण अनुसन्धानपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।




