सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
सोमबार राति करिब १ बजे जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कविलासी नगरपालिका ३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए । उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले घाइते ठाकुरको खानतलासी गर्दा उनको साथबाट एक थान ‘सिक्सर’ पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हतियार बरामद भएपछि प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




