पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ गंगापुर अडारेटोलबाट प्रहरीले ५७ किलो ६ सय ग्राम गाँजासहित ६८ वर्षीया एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीय चम्पा गुप्ताको घर तथा आसपासको क्षेत्रमा तलासी लिएको थियो ।
सो क्रममा घरको अगाडि पश्चिमतर्फ रहेको धान राख्ने माटोको भकारीभित्र लुकाइराखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० वटा ठूला साना बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा कुल ५७ किलो ६ सय ग्राम गाँजा फेला परेको हो ।
गाँजासहित करिब ६८ वर्षीया चम्पा गुप्ता तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




