पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ खजुरा खोला नजिकै साढे दुई वर्षीया बालिकामाथि यौन हिंसा भएको आशंका गरिएको छ ।
आइतबार राति करिब ११ बजे घरका परिवारका सदस्यहरू बाहिर गएको समयमा बालिका घरमै सुतिरहेकी थिइन् । परिवारका सदस्यहरू घर फर्किएपछि बालिकाको अवस्था असामान्य देखिएपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो ।
स्थानीयका अनुसार गाउँकै एक व्यक्तिको करेसाबारीमा भान्टा चोरी भइरहेको जानकारी पाएपछि बालिकाका बुबा, आमा र जेठी दिदी त्यसतर्फ गएका थिए । उनीहरू घर फर्किएपछि बालिकाको अवस्था असामान्य देखिएको बताइएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले बालिकालाई उपचारका लागि अस्पताल पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन थापाका अनुसार बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
प्रहरी नायब उपरीक्षक थापाले घटना संवेदनशील विषय भएकाले अनुसन्धानको प्रारम्भिक चरणमा थप विवरण सार्वजनिक गर्न नमिल्ने बताए । घटनामा संलग्न व्यक्तिबारे विभिन्न आशंका गरिएपनि अनुसन्धान पूरा नभएसम्म कसैको संलग्नता पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।




