सर्लाही । सर्लाहीको गोडैता नगरपालिका ६ गोडैता टोलमा घर फोडेर सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना नाबालकसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत १३ गते स्थानीय नरेश मिश्रको दुईतले पक्की घरको माथिल्लो तलामा रहेको सिरानको झ्याल खुला रहेको मौका छोपी चोर घरभित्र प्रवेश गरेका थिए । उनीहरूले दराज र सुटकेशमा राखिएका सुनचाँदीका गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
चोरी भएका गरगहनाको मूल्य करिब ५ लाख ७८ हजार २ सय रुपैयाँ रहेको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा गत आइतबार गोडैता क्षेत्रबाट चोरीमा संलग्न तीन जना नाबालक र चोरीका सामान खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट चोरी भएका विभिन्न सुनचाँदीका गरगहना समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार बरामद गरगहनामा चाँदीका पायल दुई थान, सुनका जितिया चार थान, सुनको औंठी एक थान, चाँदीका टेका दुई थान, लक्ष्मीको फोटो अंकित चाँदीका सिक्का दुई थान, चाँदीको हनुमानी एक थान र सुनको लेडिज औंठी एक थान रहेका छन् ।
पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद गौतमले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।




