सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा परेका छन् ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा पुगेको थियो । सोही क्रममा यादवलाई सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।
पक्राउ परेका यादवमाथि घुससम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




