रौतहट । दसैँ–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वको भीड, सीमा क्षेत्रमा बढ्ने आवागमन, चोरी तस्करी, सडक दुर्घटना तथा आपराधिक गतिविधिलाई नियन्त्रणमा राख्न प्रदेशभर ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार असोज २९ गतेदेखि चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू हुनेछ । त्यसका लागि प्रदेशका आठवटै जिल्लामा १ हजार ५११ वटा ड्युटी प्वाइन्ट निर्धारण गरिएको छ ।
प्रहरी परिचालनमा धनुषा सबैभन्दा अगाडि छ । धनुषामा २ हजार ५९७, बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६२ र सिरहामा ६५२ प्रहरी परिचालन हुनेछन् ।
भीडसँगै सीमा सुरक्षामा चुनौती
चाडपर्वका बेला भारत–नेपाल सीमा हुँदै हुने मानिसको आवागमन बढ्ने भएकाले मधेशमा सुरक्षा व्यवस्थाको मुख्य चुनौती सीमा क्षेत्र पनि बनेको छ । खुला सीमाको फाइदा उठाउँदै चोरी–तस्करी, अवैध सामान ओसारपसार तथा आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । यसका लागि सीमा नाकामा हेल्प डेस्कदेखि नियमित निगरानी र गस्ती बढाइनेछ । यात्रुको सहजतासँगै शंकास्पद गतिविधिमाथि निगरानी गर्ने रणनीति प्रहरीले लिएको छ ।
सडकदेखि धार्मिक स्थलसम्म निगरानी
प्रहरीले चाडपर्वका बेला राजमार्ग र मुख्य सडकमा हुने सवारी चापलाई समेत सुरक्षा चुनौतीका रूपमा लिएको छ । सडक दुर्घटना, ट्राफिक जाम र यात्रुको समस्यालाई लक्षित गरी ट्राफिकसहितको चेकिङ, मोबाइल गस्ती, राजमार्ग गस्ती तथा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।
धार्मिक स्थल, मेला, बजार तथा बढी भीड हुने स्थानमा चोरी, लुटपाट, हराउने तथा दुर्व्यवहारका घटना रोक्न थप प्रहरी परिचालन हुनेछ। महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई पनि योजनामा प्राथमिकता दिइएको छ ।
जुवा, पटका र मदिरामाथि कडाइ
चाडपर्वसँगै जुवा–तास, अवैध सट्टेबाजी, पटका तथा आतिसबाजी र मादक पदार्थको प्रयोग बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी बढाउने भएको छ । मादक पदार्थ सेवनपछि हुने झैझगडा, कुटपिट, घरेलु हिंसा तथा सार्वजनिक स्थानमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिनेछ ।
तिहारका बेला देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डीजेका कारण रातिको समयमा उत्पन्न हुन सक्ने विवाद र शान्ति–सुरक्षाको चुनौतीलाई समेत प्रहरीले सुरक्षा योजनामा समेटेको छ ।
सूचना संकलनदेखि आकस्मिक टोलीसम्म
सुरक्षा योजना केवल नियमित गस्तीमा सीमित नराखी क्यूआरटी, स्ट्राइकिङ टोली, जिल्ला रिजर्भ, सादा पोशाकका प्रहरी, संयुक्त गस्ती र कमाण्ड पोस्ट परिचालन गर्ने तयारी गरिएको छ ।
आवश्यकताअनुसार क्राउड कन्ट्रोल तथा सर्च टोली, आकस्मिक सुरक्षा टोली र विपद् प्रतिकार्य टोली समेत परिचालन हुनेछन् । नदी, पोखरी तथा अन्य जलाशयमा डुब्ने घटना तथा भीडका कारण हुन सक्ने दुर्घटनालाई पनि प्रहरीले जोखिमको सूचीमा राखेको छ ।
बजारमा पनि प्रहरीको नजर
चाडपर्वको समयमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने अवस्थालाई पनि प्रहरीले निगरानीमा राखेको छ । त्यस्तै सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर सामाजिक तनाव सिर्जना गर्ने गतिविधिमाथि समेत निगरानी गरिने जनाएको छ ।
समग्रमा प्रहरीले यसपटकको चाडपर्व सुरक्षा योजनालाई अपराध नियन्त्रणसँगै भीड व्यवस्थापन, सीमा सुरक्षा, सडक सुरक्षा र विपद् प्रतिकार्यलाई जोडेर बहुआयामिक बनाएको देखिन्छ ।
मधेशमा चाडपर्वका बेला सुरक्षा चुनौतीको ठूलो हिस्सा सीमा आवागमन, अत्यधिक भीड र सडक दुर्घटनासँग जोडिने भएकाले प्रहरी परिचालनको प्रभावकारिता भने फिल्डमा हुने समन्वय र तत्काल प्रतिक्रिया क्षमतामा निर्भर हुनेछ ।
प्रहरीका अनुसार नियमित ड्युटीबाहेक आकस्मिक टोली र सूचना संयन्त्रलाई सक्रिय राख्दै सम्भावित घटनालाई पूर्वानुमान गरी सुरक्षा व्यवस्था सञ्चालन गरिनेछ ।




