काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने कार्यमा आलटाल गर्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा साहले नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस मागेको र एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी एक लाख रुपैयाँ बिगो कायम गरेको छ । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी लिइएको आयोगले जनाएको छ ।
आयोगले साहविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।




