बारा । प्रहरीले बाराका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ११ रतनपुरबाट भरुवा बन्दुकसहित ३९ वर्षीय समशेर रुम्बा पक्राउ परेका छन् भने सिम्रौनगढ नगरपालिका ६ सलेमपुरबाट दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार राति करिब १०:५० बजे रतनपुरस्थित फुटबल मैदाननजिक नियमित गस्तीमा खटिएको प्रहरी टोलीले रुम्बालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रुम्बाको साथबाट बन्दुकबाहेक सेतो प्लास्टिकको डब्बामा राखिएको बारुदजस्तो देखिने ८० ग्राम पदार्थ, एउटा सानो प्याकेट तथा बाँसको टुक्रा, प्लास्टिकको डोरी र रबरको ट्युब प्रयोग गरी बनाइएको पासोसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
हातहतियार तथा खरखजाना मुद्दामा रुम्बाविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा मुद्दा दर्ता गरिएको छ । उनलाई बारा जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिए ।
यसैबीच, सिम्रौनगढ नगरपालिका ६ सलेमपुरमा सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा कुशवाहालाई पक्राउ गरेको हो । सिम्रौनगढ नगरपालिका २ अमृतगञ्जका कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले जनाएको छ ।
पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




