राजविराज । मधेश प्रदेश सरकारको गौरव आयोजनाका रूपमा अघि बढाइएको मधेश कृषि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण अपेक्षाकृत सुस्त देखिएको छ । ठेक्का सम्झौताको अन्तिम म्याद सकिन करिब तीन महिना मात्र बाँकी रहँदा भवन निर्माणको काम ४५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
राजविराज नगरपालिका १३ विषहरियामा विश्वविद्यालयका लागि उपलब्ध गराइएको २६ बिघा ८ कठ्ठा १८ धुर जग्गामा निर्माण भइरहेको संरचनाको ठेक्का ओम साईराम कन्स्ट्रक्सनले १ अर्ब ७० लाख रुपैयाँमा पाएको हो । उक्त निर्माणस्थललाई ‘कृषि नगर’ नाम दिइएको छ ।
निर्माण योजनाअन्तर्गत विश्वविद्यालयको मुख्य प्रशासनिक भवन, कुलपति, सहकुलपति, उपकुलपति तथा रजिस्ट्रारका कार्यकक्ष, कक्षाकोठा, प्रयोगशाला र छात्रावासलगायतका संरचना निर्माण भइरहेका छन् ।
ठेक्का सम्झौता ७ माघ २०८० मा भएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति ७ माघ २०८३ तोकिएको छ । तर समयसीमा नजिकिँदै गर्दा कामको गति अपेक्षाअनुसार बढ्न सकेको छैन ।
विश्वविद्यालय स्थापना भएयता मधेश प्रदेशमा पटक–पटक सरकार र मन्त्री परिवर्तन हुनु, राजनीतिक खिचातानी देखिनु तथा विश्वविद्यालयको पूर्वाधार निर्माणमा पर्याप्त प्राथमिकता नपर्नुले निर्माण प्रभावित भएको बताइएको छ । बजेट विनियोजनमा समेत अपेक्षित ध्यान नदिइएको कारण कामले गति लिन नसकेको विश्वविद्यालय पक्षको भनाइ छ ।
निरीक्षणमा मन्त्री, तर बाँकी कामको चुनौती उस्तै
निर्माण कार्य सुस्त भएपछि प्रदेश सरकारका मन्त्री तथा जनप्रतिनिधिले पटक–पटक निर्माणस्थलको अनुगमन गर्दै आएका छन् । पछिल्लोपटक अर्थमन्त्री युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह, प्रदेश सांसद माला कर्ण र पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले विषहरियास्थित ‘कृषि नगर’ पुगेर निर्माणाधीन संरचनाको निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा बाँकी रहेको अवधिमा निर्माणलाई कसरी गति दिने भन्ने विषयमा छलफल भए पनि निर्धारित समयमै सम्पूर्ण काम सम्पन्न गर्ने ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।
मन्त्रीद्वय भट्टराई र सिंहले मंगलबार विश्वविद्यालयको शैक्षिक, परीक्षा, अनुसन्धान तथा प्रशासनिक गतिविधिको समेत निरीक्षण गरेका थिए । त्यस क्रममा विद्यार्थी तथा शिक्षक–प्राध्यापकसँग छलफल गर्दै अध्यापनमा कुनै कमजोरी हुन नदिन र मधेश प्रदेशको गौरवको योजनाका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न सक्रिय भएर काम गर्न निर्देशन दिइएको थियो ।
पूर्वाधार निर्माण अधुरै, पढाइ भने जारी
भौतिक पूर्वाधार निर्माणले अपेक्षित गति लिन नसके पनि विश्वविद्यालयमा शैक्षिक गतिविधि भने सञ्चालनमा छन् । हाल विश्वविद्यालयमा बीएससी एजीतर्फ चारवटा ब्याचका १५५ विद्यार्थी अध्ययनरत छन् । पाँचौँ ब्याचका लागि भने भर्ना प्रक्रिया चलिरहेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले कृषि शिक्षासँगै अनुसन्धान र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेपनि त्यसका लागि आवश्यक प्रशासनिक भवन, प्रयोगशाला, कक्षाकोठा र छात्रावासलगायतका पूर्वाधार समयमै निर्माण सम्पन्न गर्नु चुनौती बनेको छ ।
अब ठेक्काको म्याद सकिन छोटो अवधि मात्र बाँकी रहेकाले निर्माणाधीन संरचनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, विश्वविद्यालय र प्रदेश सरकारमाथि दबाब बढेको छ ।




