सिरहा । सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ ।
गोलबजार नगरपालिका १ बलडाँडा मुसहर बस्तीस्थित सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा बिहीबार राति प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल (सुरक्षा बेस गोलबजार) को संयुक्त टोलीले राति करिब ८:३० बजे छापा मार्दा ग्राभेल लोड गरिएका सवारीसाधन फेला परेका हुन् ।
नियन्त्रणमा लिइएका सवारी साधनमा को १ ख ४१५७, प्र.२–०१–००१ क ०१७०, म.प्र.०२–००१ क ०२८५, मे १ क ६५०, म.प्र.०३–००१ क ३०२८ र म.प्र.०३–००१ क ३२३५ नम्बरका टिपर तथा ज १ क ०७५२ नम्बरको जेसिबी रहेका छन् ।
सवारी साधनहरूलाई हाल सशस्त्र प्रहरी बल सुरक्षा बेस गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट फरार चालकहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ ।




