रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ । पुलका विभिन्न संरचनामा कमजोरी देखिन थालेपछि स्थानीयले सम्भावित दुर्घटना रोक्न तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिममा रहेको उक्त पुल गौर र ईशनाथ क्षेत्रका बासिन्दाका लागि महत्त्वपूर्ण आवागमन मार्ग हो । पुलबाट दैनिक पैदलयात्री, साइकल तथा मोटरसाइकल चालक आवतजावत गर्दै आएका छन् ।
तर, पछिल्लो समय पुलमा जडान गरिएका फलामे जाली, नटबोल्ट तथा भार थेग्ने मुख्य फलामे तार कमजोर हुँदै गएको स्थानीयको गुनासो छ । पुलका विभिन्न स्थानमा फलामे तार नटबोल्टबाट छुट्टिएर झुन्डिएको र कतिपय संरचना खुकुलो भएको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार पुलको दुवैतर्फ रहेका भार थेग्ने मुख्य फलामे तार समेत विभिन्न ठाउँमा खुस्किने र लचिलो हुने समस्या देखिएको छ । यसले पुलको सुरक्षाबारे चिन्ता बढाएको छ । दैनिक आवागमनका लागि यही पुलमा निर्भर स्थानीयले समयमै प्राविधिक परीक्षण र मर्मत नगरिए गम्भीर दुर्घटना हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
दुर्घटनाअघि नै मर्मत गर्न स्थानीयको माग
पुलमा देखिएका संरचनागत कमजोरीलाई बेवास्ता गर्दा ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायलाई समयमै ध्यान दिन आग्रह गरेका छन् । विशेषगरी पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधनको नियमित आवागमन हुने पुलमा सुरक्षा जोखिम देखिनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ ।
स्थानीयले पुलको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित प्राविधिक निकायबाट तत्काल स्थलगत निरीक्षण र प्राविधिक परीक्षण गर्नुपर्ने माग गरेका छन् । परीक्षणबाट जोखिमयुक्त देखिएका भागको शीघ्र मर्मत, आवश्यक सुरक्षा व्यवस्था तथा मर्मतसम्भार सम्पन्न नहुँदासम्म जोखिमअनुसार आवागमन व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
सम्बन्धित नगरपालिका तथा पुलको रेखदेख र मर्मतसम्भारको जिम्मेवारी पाएको निकायले यस विषयमा तत्काल कदम चाल्नुपर्ने स्थानीयको माग छ । दुर्घटना भएपछि मात्रै सक्रिय हुने प्रवृत्तिको अन्त्य गरी समयमै सावधानी अपनाउन सके सम्भावित जनधनको क्षति रोक्न सकिने उनीहरूको भनाइ छ ।




