रौतहट । रौतहटको गौरमा प्रहरीले नेपाली र भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बरामद रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले हुण्डी कारोबारको आशंकामा उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका १ का ४२ वर्षीय शेराज अलि रहेका छन् । बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालयअगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (बीएटी) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर जाँच गर्दा अलिको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट नेपाली एक लाख १६ हजार ५०० रुपैयाँ र भारतीय एक लाख रुपैयाँ बरामद भएको हो । नेपाली रकममा पाँच सय दरका २३३ थान र भारतीय रकममा पाँच सय दरका २०० थान नोट रहेका छन् । नगद रकमसँगै प्रहरीले प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध वित्तीय कारोबार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।




