पर्सा । पर्साको पोखरियास्थित नापी कार्यालयका प्रमुख बब्लु पाण्डेलाई धम्की दिएको तथा अभद्र व्यवहार गरेको आरोपमा लेखनदास रामाशिष साह गोढलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोप लागेका उनका छोरा विनय साह गोढ भने फरार रहेको प्रहरीले जनाएको छ ।
नापी कार्यालयमा पुगेर कार्यालय प्रमुखमाथि दबाब सिर्जना गर्दै नियम विपरीत काम गराउन खोजेको आरोपपछि प्रहरीले रामाशिषलाई उपस्थित गराएको हो । उनलाई इलाका प्रहरी कार्यालय पोखरियामार्फत उपस्थित गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरेको घटनामा रामाशिषलाई यसअघि उपस्थित हुन बोलाइएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीमार्फत कार्यालयमा ल्याइएको हो । घटनामा उनका छोरा विनयको समेत संलग्नता रहेको आरोप लागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि नापी कार्यालय पुगेका रामाशिषले आफू स्थानीय बासिन्दा तथा पूर्व लेखापढी व्यवसायी सङ्घको अध्यक्ष रहेको उल्लेख गर्दै कार्यालय प्रमुखमाथि दबाब दिएको आरोप छ । कार्यालय प्रमुख पाण्डेले कानुनी प्रक्रिया र निर्धारित मापदण्डअनुसार मात्रै काम गर्नुपर्ने अडान लिएपछि विवाद बढेको बताइएको छ ।
रामाशिषमाथि सेवाग्राहीको काम गराइदिने भन्दै रकम असुल्ने तथा आफ्नो प्रभाव प्रयोग गरेर कर्मचारीलाई नियमविपरीत काम गर्न दबाब दिने गरेको आरोपसमेत लागेको छ ।
घटनाबारे दुवै पक्षलाई बोलाएर सोधपुछ गर्ने र वास्तविकता पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रामाशिष दोषी देखिएमा प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
सरकारी कार्यालयमा व्यक्तिगत पहुँच र प्रभावका आधारमा काम गराउन खोज्ने प्रवृत्तिले सार्वजनिक सेवा प्रवाहमा असर पार्न सक्ने भएकाले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ । प्रहरीले भने आरोपको सत्यतथ्य पत्ता लगाएपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।




