काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका ६ बस्ने काठमाडौं महानगरपालिका १६ घर भएका ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये रोजनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख २७ हजार रूपैयाँ र किसानले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोजनलाई काठमाडौं महानगरपालिका १२ बाट बुधबार र किसानलाई तारकेश्वर नगरपालिका ६ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूमध्ये रोजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ भने किसानलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




