बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ बेहरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घर पछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो विद्युत् तार छुँदा स्थानीय ४५ वर्षीया सिरिया देवी महतोको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे सरसफाइ गर्ने क्रममा महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी महतोलाई श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याएका थिए ।
तर, अस्पतालका चिकित्सकले दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ ।
मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिए ।




