बारा । बारामा लागुऔषध गाँजाको ओसारपसार भइरहेको आशंकामा प्रहरीले गरेको चेकजाँचका क्रममा ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका ६ रामनगर टोलका ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन् ।
प्रहरीका अनुसार शनिबार राति करिब १०:४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट इन्स्पेक्टर कृष्णदेव साहको नेतृत्वमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ मा चेकजाँच गर्ने क्रममा यादवलाई फेला पारेको थियो । चेकजाँचका क्रममा उनको साथबाट ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




