वीरगन्ज । पर्साको वीरगन्जमा अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन छुट्टाछुट्टै घटनामा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका २५ सिर्सियाबाट शनिबार राति १५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ३ निवासी २९ वर्षीय फैयाज अन्सारी समेत रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय छपकैयासमेतबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, वीरगन्ज महानगरपालिका १६ बाट शनिबार दिउँसो करिब ६१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ निवासी १९ वर्षीय सिधान्त सिंह समेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना १६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, वीरगन्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट आइतबार दिउँसो ३ ग्राम ८८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका २ संगमचोक निवासी २० वर्षीय राजु मानन्धर रहेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मानन्धरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । तीनवटै घटनामा पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




