काठमाडौँ । संखुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
उनीहरूको शव विभिन्न ठाउँमा भेटिएकाे थियाे । पार्वता कार्कीबाहेक अरू सबैको शव बाहिर भेटिएको सासु-बुहारीको शव घरभन्दा केही मिनेट पर खोलामा फेला परेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् । तेजबहादुरलाई भने हतियारले टाउको र पेटमा हानेर मारेको देखिएको बताइएकाे छ ।
घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जिवित नै भेटिएका छन् । श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएनन् । बुढा भइसकेका बौद्धमान आँखाले मधुरो देख्छन् भने सामान्य आवाज समेत सुन्दैनन् । एकै पटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन्। नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन् ।
सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएकाे छ ।




