बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ उनासी पुलस्थित पूर्व-पश्चिम राजमार्गमा दुई बसको बीचमा विद्युतीय सवारी (ईभी) च्यापिँदा चालक घाइते भएका छन् । बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ का ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन् । उनको ढाडमा चोट लागेको छ ।
निजगढस्थित सिटी अस्पतालमा उपचाररत मण्डलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि सडकमा रोकिएको थियो ।
सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दियो । ठक्करपछि ईभी अगाडि रोकिएको बसमा समेत ठोक्कन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ ।




