लहान । सिरहाको लहान नगरपालिका १, २, ३ र १९ लाई जोड्ने मुख्य सडकको कालोपत्रे गुणस्तरहीन भएको आरोप लगाउँदै स्थानीयवासीले निर्माण कार्य अवरुद्ध गरेका छन् ।
दुई किलोमिटर लामो उक्त सडकको कालोपत्रे गर्ने क्रममा वडा नं. १९ को कटहा चोकबाट सुरु भएको निर्माण कार्य वडा नं. २ मा पुगेपछि स्थानीयवासीले रोकेका हुन् । सडक निर्माणमा आवश्यक गुणस्तर कायम नगरिएको भन्दै उनीहरूले काम रोक्न दबाब दिएका छन् ।
रिलायन्स बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले २०८१ साल चैत ६ गतेदेखि निर्माण सुरु गरेको सडक २०८३ साल असार २० गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो । निर्धारित समयभित्र निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर काम अघि बढाइएको थियो । तर, थपिएको समयावधिमा पनि गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ ।
स्थानीय शिवनारायण महतो, जितेन्द्र यादव र दुर्गानन्द महतोका अनुसार सडक कालोपत्रे गर्दा आवश्यक आकारको गिट्टी प्रयोग गरिएको छैन भने डस्ट समेत नराखिएको पाइएको छ । कालोपत्रे गरेको केही समयमै सडकको सतह उप्किन थालेको उनीहरूको भनाइ छ । सम्झौताअनुसार निर्माण कार्य नभएपछि बाध्य भएर काम रोक्नुपरेको उनीहरूले बताएका छन् ।
स्थानीयवासीले निर्माण कार्य रोकेपछि लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद भुर्तेल र प्राविधिक टोलीले निर्माणस्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा गुणस्तरमा कमजोरी देखिएका स्थानमा सम्झौताअनुसार आवश्यक सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।
निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको र म्याद थपिएपछि पनि गुणस्तरीय काम नभएको भन्दै स्थानीयवासीले निर्माण कार्य रोक्नु उचित भएको स्थानीय बुद्धिजीवी शिवकुमार साहले बताए । सडक निर्माणमा गुणस्तर सुनिश्चित गरेर मात्र काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।
लहान नगरपालिका २ मा यसअघि पनि नाला तथा सडक निर्माणका क्रममा अनियमितता भएको आरोप लाग्दै आएको स्थानीयवासीले बताएका छन् । सार्वजनिक विकास निर्माणका काममा हुने कमजोरीप्रति नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनीहरूले गुणस्तरहीन कामलाई बेवास्ता गरेर बस्न नसकिने बताएका छन् ।




