वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्जस्थित मितेरी पुल क्षेत्रबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र गाँजासहित दुई जनालाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार सीमा सुरक्षा गुल्म वीरगञ्ज र बोर्डर इन्टरएजेन्सी टिमको संयुक्त टोलीले छुट्टाछुट्टै घटनामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका ५ नकटुवा निवासी १८ वर्षीय शेख सहजातलाई शङ्काका आधारमा जाँच गर्दा कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाइएको सेतो पदार्थ फेला परेको थियो ।
उक्त पदार्थको तौल चार ग्राम ८४० मिलिग्राम रहेको र ब्राउन सुगरजस्तो देखिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी, नेपालबाट पैदल भारततर्फ जाँदै गरेका बाराको बारागढी गाउँपालिका ३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको झोलामा लुकाएर लगिँदै गरेको अवस्थामा चार किलो ८५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय, बिर्तामा बुझाएको जनाएको छ ।




