जनकपुरधाम । लामो समयदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहालाई जोड्ने कमला नदीको पुल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । पुलका भासिएका संरचनाको मर्मत तथा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेकाले आगामी मङ्सिरको अन्तिम सातादेखि पुलबाट यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोका अनुसार पुल सञ्चालनका लागि आवश्यक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भए धनुषा र सिराहाका बासिन्दाले लामो समयदेखि भोग्दै आएको आवागमनको समस्या कम हुने अपेक्षा गरिएको छ ।
बाढीले भासिएका पिल्लरका कारण रोकिएको थियो सञ्चालन
कमला नदीमाथि पुल निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बिनी, काठमाडौंसँग सम्झौता गरी काम सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि २०७८ सालमा पुल सञ्चालन गर्ने तयारीसमेत गरिएको थियो । तर, २०७८ असार १७ गते कमला नदीमा आएको बाढीका कारण पुलका दुईवटा पिल्लर भासिएपछि यातायात सञ्चालनको योजना रोकिएको थियो ।
पुलका पिल्लर भासिएपछि मर्मत तथा पुनर्निर्माणको काम अघि बढाउन निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवादले समेत ढिलाइ भएको थियो । यसका कारण पुल निर्माण सम्पन्न भएर पनि लामो समयसम्म सर्वसाधारणले प्रयोग गर्न पाएका थिएनन् ।
भासिएका संरचनाको मर्मत तथा पुनर्निर्माण अन्तिम चरणमा
हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख महतोका अनुसार पुल सञ्चालनमा ल्याउन भासिएका संरचनाको सुधार तथा पुनर्निर्माणलाई तीव्रता दिइएको छ । निर्माण कम्पनीको सक्रियता, योजना कार्यालयको निरन्तर प्रयास तथा धनुषा र सिराहाका जनप्रतिनिधिको पहलले कामले गति लिएको उहाँले बताउनुभयो ।
निर्माण कम्पनी पप्पु लुम्बिनी जेभीले भासिएका दुई पिल्लरमध्ये एउटालाई सबलीकरण गरेको छ भने बढी भासिएको अर्को पिल्लरको स्थानमा नयाँ दुईवटा पिल्लर निर्माण गरेको छ ।
यसअघि कात्तिक महिनादेखि नै पुल सञ्चालन गर्ने तयारी गरिएपनि भदौमा आएको बाढीका कारण निर्माण कार्य प्रभावित भएपछि समयतालिका परिवर्तन गर्नुपरेको महतोले बताउनुभयो ।
अहिले मर्मत तथा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकाले मङ्सिरको अन्तिम सातादेखि यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । पुल निर्माणस्थलमा खटिएका पप्पु लुम्बिनी जेभीका प्रतिनिधि सूर्यप्रकाश शर्माले पनि निर्माण कार्य तीव्र गतिमा भइरहेको र अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
पुल सञ्चालनमा आएपछि आवागमन सहज हुने अपेक्षा
लामो समयदेखि प्रतीक्षामा रहेको कमला पुल सञ्चालनमा आउने तयारी भएपछि धनुषा र सिराहाका बासिन्दामा उत्साह देखिएको छ । पुल सञ्चालनमा आएपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम र पूर्वी मधेशका विभिन्न क्षेत्रबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवका अनुसार पुल सञ्चालनमा आएपछि सिराहा र सप्तरीका बासिन्दालाई जनकपुरधाम आउजाउ गर्न सहज हुनेछ । त्यस्तै, धनुषाका बासिन्दालाई सप्तरीको राजविराज पुग्न पनि सहज हुने उहाँले बताउनुभयो ।




