सर्लाही । सर्लाहीको कविलासी नगरपालिका २ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ ।
बिहीबार साँझ करिब साढे ४ बजे प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
कविलासी नगरपालिका ७ सिरसियाकी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् सेवा अवरुद्ध गरिएको थियो । त्यसका कारण सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा प्रभावित भएको थियो ।
प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गरेको हो ।




