रौतहट । अपराध अनुसन्धानमा व्यावसायिक दक्षता, इमानदारी र उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेको कदरस्वरूप धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरबिन्द कुमार साह मधेश प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ घोषित भएका छन् । ७१ औँ प्रहरी दिवस २०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले साहलाई उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा अभियोजन शाखामा कार्यरत साहले अनुसन्धानलाई प्रभावकारी बनाउन र अभियुक्तलाई कानुनी दायरामा ल्याउन पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
शुक्रबार आयोजित विशेष समारोहमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले साहलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका थिए । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीद्वारा हस्ताक्षरित प्रशंसापत्रसहित उनलाई सम्मान गरिएको हो ।
अपराध अनुसन्धान प्रहरी संगठनको महत्त्वपूर्ण जिम्मेवारीमध्ये एक हो । घटनाको तथ्य पत्ता लगाउने, प्रमाण संकलन गर्ने, दोषीलाई कानुनी प्रक्रियामा ल्याउने र अभियोजनलाई प्रभावकारी बनाउने कार्यमा साहले देखाएको सक्रियता तथा व्यावसायिक प्रतिबद्धतालाई सम्मानको आधार बनाइएको बताइएको छ ।
सम्मानपछि साहलाई डीआईजी अधिकारीसहित समारोहमा उपस्थित वरिष्ठ प्रहरी अधिकारीहरूले बधाई तथा शुभकामना दिएका थिए । उनीहरूले आगामी दिनमा पनि उच्च व्यावसायिक दक्षता, इमानदारी र जिम्मेवारी बोधका साथ कार्य सम्पादन गर्न प्रेरित गरेका थिए ।
प्रहरी दिवसको अवसरमा प्रदान गरिएको यस सम्मानले अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको मेहनत र योगदानको कदर गर्नुका साथै संगठनभित्र उत्कृष्ट कार्यसम्पादन तथा व्यावसायिक निष्ठालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।




