सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रबार भएको दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका ५ जिरोमाइलका २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका ४ का २२ वर्षीय शम्भुनाथ कुमार साह र २३ वर्षीय शुभमकुमार शर्मा घाइते भएका छन् । प्रहरीका अनुसार दुवै घाइतेको अवस्था सामान्य छ । उनीहरूको महोत्तरीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका चालक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
यद्यपि, सङ्ग्रामपुर क्षेत्रको हुलाकी राजमार्गमा अत्यधिक खाल्टाखुल्टी रहेकाले तीव्र गतिमा रहेको कार खाल्टोमा परेर अनियन्त्रित भएको हुन सक्ने आशङ्का गरिएको छ । दुर्घटनापछि कार सडकमा उत्तानो परेको थियो । सुरक्षाकर्मीले दुर्घटनाग्रस्त कारलाई सडकबाट हटाएका छन् ।




