वीरगंज । वीरगंज भन्सार कार्यालयबाट लिलाम हुने सवारी साधन तथा घरायसी प्रयोजनका सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा बस्दै आएका २७ वर्षीय प्रवीण साह रहेका छन् ।
प्रहरीका अनुसार साहले वीरगंज भन्सार कार्यालयसँग आफ्नो सेटिङ रहेको भन्दै लिलाम हुने सवारी साधन तथा अन्य सामान सस्तो मूल्यमा मिलाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए । सोही प्रलोभनमा पारेर उनले विभिन्न व्यक्तिबाट रकम जम्मा गर्न लगाएको र रकम लिएपछि सम्पर्कविहीन भएको आरोप छ ।
यस सम्बन्धमा प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका ८ घण्टाघर क्षेत्रबाट साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गर्दै साहलाई पक्राउ गरिएको जानकारी दिएको हो । भन्सार कार्यालयबाट लिलाम हुने सामान सस्तोमा उपलब्ध गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भन्सार कार्यालयसँग पहुँच रहेको भन्दै सस्तो मूल्यमा सवारीसाधन तथा अन्य सामान उपलब्ध गराइदिने प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता कारोबार गर्नुअघि सम्बन्धित सरकारी निकायबाट आधिकारिक जानकारी लिन र अपरिचित व्यक्तिलाई रकम नदिन प्रहरीले सुझाव दिएको छ ।




