पर्सा । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक स्तरोन्नति प्रक्रिया अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको ८.५४ किलोमिटर सडक स्तरोन्नतिका लागि शुक्रबार ठेक्का आह्वान गरेको हो ।
सडक स्तरोन्नतिको कामलाई दुई खण्डमा विभाजन गरेर अघि बढाउन लागिएको इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए । कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।
त्यस्तै, दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.५४ किलोमिटर सडक स्तरोन्नति हुनेछ । दुवै खण्डको बोलपत्र जमानत रकम ११ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।
इन्जिनियर प्रसादका अनुसार दुवै खण्डको स्तरोन्नति आयोजनाको कुल लागत साढे पाँच अर्ब रुपैयाँ रहेको छ । यद्यपि, ठेक्कासम्बन्धी प्रकाशित सूचनामा आयोजनाको कुल लागत उल्लेख गरिएको छैन ।
यसअघि गत वैशाखको पहिलो सातादेखि गण्डक चोकदेखि मितेरी पुलसम्म त्रिभुवन राजपथको दायाँबायाँ २५–२५ मिटर सडक विस्तारको काम सम्पन्न भएको थियो । सडक विस्तारको काम पूरा भएपछि अब मुख्य सडकको स्तरोन्नति प्रक्रिया अघि बढाइएको हो । सडक विस्तार र स्तरोन्नतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्न लागिएको छ ।
वीरगन्जको मुख्य सडक सहरको व्यापार, यातायात र आर्थिक गतिविधिको महत्त्वपूर्ण आधार हो । भारतसँगको व्यापारिक आवागमनका साथै देशका विभिन्न भागबाट आउने मालवाहक सवारी साधनको चाप रहने यस सडकको स्तरोन्नति लामो समयदेखि आवश्यक मानिँदै आएको थियो ।
सडकको अवस्था व्यवस्थित नहुँदा स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुले आवागमनमा विभिन्न समस्या भोग्दै आएका छन् । स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै सडकको अवस्था सुधार हुने र वीरगन्जको यातायात तथा व्यापारिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ ।




